बारा जिल्लाको एक मात्र २४ सै घण्टा प्रसारण हुने रेडियो “ रेडियो कोल्हवी १०४.१ मेगाहर्ज ”

Breaking


Thursday, November 1, 2018

सन्दर्भ ‘हराएका बालबालिकाकाे अन्तर्राष्ट्रिय दिवस’ : शैली फेरेर बेचबिखन

-गिरिजा अधिकारी
गत फेब्रुअरीकाे तेस्राे साता सिरियाकाे गुटाक्षेत्रमा भएकाे रासायनिक हमलामा सयाैँ बालबालिकाकाे ज्यान गयाे । जाे बाँचेका थिए, ति हरेकका शरीरमा बर्बरतापूर्ण युद्धकाे निशाना थिए । स्तब्ध सारा विश्व त्यसवेला झन् स्तब्ध भयाे जतिवेला अाफन्त गुमाएकी एउटी बालिका एउटा पाेकाे बाेकेर मरूभूमिमा अनिश्चित यात्रा गरिरहेकाे तस्बिर सार्वजनिक भयाे ।
अाज नेपालसहित विश्वभर ‘हराएका बालबालिकाहरूकाे अन्तर्राष्ट्रिय दिवस’ मनाइँदैछ । युद्ध, हिंसा, बेचबिखन, गरिबी वा अन्य अनेक कारणबाट विश्वमा वर्षेनी लाखाैँ बालबालिका हराउने गरेका छन् । नेपालमा पनि वर्षेनी बालबालिका हराउँछन् । तर, यहाँ हराउनेभन्दा बेचिन्छन् भन्नु बढी सान्दर्भिक हुन्छ । किनभने तथ्यांकहरूले नै याे पुष्टि गरेका छन् । मानव बेचबिखनविरुद्ध क्रियाशील सरकारी तथा गैरसरकारी संस्थाहरूकाे अनुभव भन्छ, ‘हिजाेभन्दा अाज चुनाैती थपिएको छ । किनभने बेचबिखनको तरिकामा परिवर्तन अाएकाे छ।’
सरकारी तथा सामाजिक संस्थाले सार्वजनिक गर्ने तथ्याङ्कमा मानव बेचबिखनमा कमी आएको देखिए पनि बेचबिखनको तरिकामा मात्र परिवर्तन भएको यस क्षेत्रका जानकारहरूको दावी छ । पहिलाजस्तो सिधै मानव बिक्रीको स्थितिमा कमी आएको भए पनि वैदेशिक रोजगारी र स्वदेशका होटल, लज, डान्सबार र घरेलु कामदारको रूपमा मावन बेचबिखन भइरहेको छ । स्वदेशमा यौन शोषणको घटनामा पनि वृद्धि हुन थालेको छ ।
माइती नेपाल मकवानपुरकी संयोजक माया लामा बेचबिखनको स्वरूपमा कमी आएको बताउँछिन् । स्वरूप परिवर्तन भएका कारण नियमनकारी निकायसम्म उजुरी आउने कुरामा कमी आएको भए पनि बेचबिखन नरोकिएको उनकाे भनाइ छ । बेचबिखन प्रभावितले नै स्थापना गरेर सञ्चालन गरिरहेको संस्था शक्ति समूहकी क्षेत्रीय संयोजक अस्मिता तामाङ पनि काेठी र सर्कसमा मात्र हुने गरेको बेचबिखनकाे स्वरूप बदिलएकाे बताउँछिन् ।
मकवानपुरमा अहिले सिधै हुने बेचबिखनका घटना बाहिर आएका छैनन् । सिधै मानव बेचबिखनकाे मुद्धामा कमी अाए पनि स्वरूप परिवर्तन भई वैदेशिक रोजगारीको नाममा बेचबिखन हुन थालेको छ । रोजगारीका लागि विदेश पठाएर श्रम र यौनशोषण हुने क्रम बढेको पाइएको छ । प्रहरीमा बेचबिखनका उजुरी भने घटेका छन् । स्वरूप परिवर्तनकै कारण सिधै बेचबिखनका घटनामा कमी देखिएकाे छ ।
राष्ट्रिय मानव अधिकार आयोगकाे तथ्यांकअनुसार नेपालबाट वार्षिक ६ हजारभन्दा बढी महिला तथा बालबालिकाको बेचबिखन हुन्छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/०७४ मा मानवबेचबिखन तथा ओसारपसारमा मकवानपुरमा जम्मा ८ वटा मुद्दा दायर भएका थिए । जसमध्ये ७ वटा मुद्दाको किनारा लागिसकेको र एउटा बाँकी रहेको प्रहरी निरीक्षक प्रकाश रिजालले बताए । जसमध्ये एउटा मात्र मानवबेचबिखनसँग सम्बन्धित उजुरी थियाे । यसैगरी चालु आर्थिक वर्षको हालसम्म ५ वटा मुद्दा दर्ता भएकामा सबै किनारा लागिसकेका छन् ।
विभिन्न स्वरूपमा मानव बेचबिखन भए पनि उजुरी नआउने गरेको रिजालको भनाइ छ । पछिल्लो समय स्वदेशमै होटलहरूमा हुने बेचबिखनका उजुरी बढी आउन थालेको उनले बताए । वैदेशिक रोजगारीमा जाँदा बेचबिखन भएपनि उजुरी गर्नेको संख्या नगन्य भएको प्रहरी निरीक्षक रिजालको भनाइ छ ।
महिला सरोकारको क्षेत्रमा काम गर्दै आएको माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले पनि बेचबिखनकाे स्वरूप परिवर्तन हुँदा समस्या परेको बताइन् । पछिल्लो समय मोबाइल, सामाजिक सञ्जालका कारण मानव बेचबिखन झन् भयङ्कर बन्दै गएको लामाले बताइन् ।
संख्यामा कमी आए पनि बेचबिखनको स्वरूपमा आएको परिवर्तनले स्थिति झन दयनीय बन्दै गएको कार्यक्रम संयोजक लामाको अनुभव छ । ‘अहिले मानवबेचबिखनको ट्रेन्डमा चेन्ज आएको छ । वैदेशिक रोजगारी र विभिन्न नाममा आन्तरिक बेचबिखन भइरहेको छ । यसलाई रोक्नु अहिलेको मुख्य चुनौती बनेको छ । शिक्षा, स्वास्थ्य र रोजगारलाई राज्यले सर्वसुलभ नबनाएसम्म समस्या उस्तै रहन्छ ’, लामाले भनिन् ।
माइती नेपालको तथ्याङ्क अनुसार सन्र २०१७ मा ७ वटा मानव बेचबिखनका उजुरी परेका थिए । यसैगरी चालु अार्थिक वर्षको हालसम्म २ वटा मात्र उजुरी परेको छ । जसमा एउटा वैदेशिक रोजगारी र एउटा आन्तरिक बेचबिखनको रहेको लामाले बताइन् ।
बेचबिखनमा परेकी एक बालिकालाई भारतबाट उद्धार गरिँदै । फोटो सौजन्य : शक्ति समूह ।
विवाह गरेर तथा रोजगारीको नाममा भारतमा लगेर बिक्री गर्ने काममा कमी आएपछि विदेश तथा स्वदेशमा विभिन्न स्वरुपमा मानव बेचबिखन भइरहेको लामाले पनि बताइन् ।
भारतको बाटो हुँदै विभिन्न देशमा राम्रो काम र तलबको लोभ देखाएर बिक्री गर्ने र यौन शोषण गर्ने काम अहिले झन भइरहेको उनले उल्लेख गरिन् । कानुन कार्यान्वयन नहुँदा पनि बेचबिखनमा कमी नआएको लामो भनाइ छ । राज्यको निकायले कानुनलाई पूर्ण रूपमा कार्यान्वयन गरे बेचबिखनमा धेरै कमी आउने उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) लोकेन्द्र श्रेष्ठले मानवबेचबिखन रोक्न जनचेतना आवश्यक रहेको बताए । घरबाटै जनचेतना अभिवृद्धि नभएसम्म बेचबिखन नरोकिने श्रेष्ठको भनाइ छ । उनले विशेष गरी घरबाटै हुने महिला हिंसाका कारण बेचबिखनमा पर्ने गरेको बताए । घरबाटै पीडामा परेका महिलालाई दलालले सहजै प्रभावमा पारी बेचबिखन गर्ने गरेकाले जनचेतना तल्लोतहसम्म पुर्याउन प्रहरीले काम सुरु गरेको उनकाे भनाइ छ ।
डान्सवार, मसाज पार्लर, राजमार्गका होटल, खाजा घरजस्ता ठाउँमा हुने बालबालिकाको श्रमशोषण तथा यौनशोषणका लागि हुने बेचबिखन, ईटाभट्टा जस्ता निकृष्टश्रमका लागि हुने बेचबिखन मात्र हैन भारतका मेघालयका विभिन्न्न कोइलाखानीमा काम गर्नसमेत पूर्वीनेपालका थुपै बालबालिका बेचबिखनमा परेको, कतिको ज्यानैसमेत जानेगरेको बेचविखनविरुद्ध कार्य गर्दै अाएकाे सामाजिक संस्था इम्पल्सका कर्मचारीहरूले बताए । मकवानपुरका बालबालिका मेघालयसम्म पुर्याइएकाे भन्ने आधिकारीक सुचना भने कसैसँग पनि छैन ।
बेचबिखनमा पर्ने महिला तथा बालबालिकाका यकिन तथ्याङ्क नभए पनि बेचबिखन नियन्त्रण हुन नसकेको यथार्थ लुकेको छैन । मुलुकमै सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, काभ्रे, धादिङलगायतका जिल्लाको नाम बेचबिखनमा अग्रपंक्तिमा आउने गरेको छ ।
आर्थिक विपन्नता, सामाजिकभेदभाव तथा अपमानित जीवन, घरेलुहिंसा, अशिक्षा र बेरोजगारीका कारण अशिक्षित गाउँले महिला तथा चेलीबेटी बेचबिखनको शिकार हुने गरेका छन् । उनीहरूलाई रोजगारीमा लगाइदिने, सहर घुमाइदिने, विवाह गरी सुखद् जीवन बिताउने जस्ता आश्वासनको जालमा पारी दलालहरूले सजिलैसँग नेपालको सीमा कटाउँछन् र वेश्यालय, वैदेशिक रोजगारलगायत होटल, रेष्टुरेन्ट, सर्कस, कारखाना तथा घरेलु कामका लागि बेचिदिने गर्दछन् ।
बेचिनेमा प्रायः निम्न वर्गीय परिवारको संख्या बढी भएको पाइएको छ । बेचबिखन कार्यमा संलग्न गिरोह तथा दलालहरूले बालबालिकालार्इ दिनप्रतिदिन नयाँनयाँ तरिका र बहाना बनाएर नेपालको सीमा पार कटाउँदै आएका छन् ।
–नयाँ पत्रिकाबाट

No comments:

Post a Comment